काठमाडौँ- न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ। यसमध्ये कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशको तराईसहित अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र तराईका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

