काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदाय आज गाईजात्रा पर्व मनाइरहेका छन्। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने यो पर्व मृत आत्माको सम्झना, शान्ति र सामाजिक चेतना जगाउने अवसरका रूपमा मनाइन्छ।
ऐतिहासिक कथनअनुसार, पुत्र वियोगमा शोकाकुल भएकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले जनतालाई एक वर्षभित्र दिवंगत भएका आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि, रानीको मन शान्त पार्न व्यङ्ग्यात्मक कार्यक्रमसमेत गर्न आदेश दिइएपछि, यो पर्व धार्मिक मात्र नभई सामाजिक व्यङ्ग्यको माध्यमका रूपमा पनि विकसित भयो।
पाटनमा देखाइने सत्य युगको धान र चामलको नमूना, काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक आज विशेष आकर्षणको रूपमा मानिन्छन्। भक्तपुरमा गाईजात्राका दिन परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई सोही दिन विसर्जन गर्ने परम्परा रहिआएको छ।
गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा नाचगान, रामायणको करुण रसका गीत, गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गर्ने र सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा पैसा दान गर्ने चलन छ। धार्मिक विश्वासअनुसार, यसरी गाईको स्वरूपमा परिक्रमा गराउँदा मृत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ।
पछिल्ला वर्षहरूमा गाईजात्राको अवसर पारेर समाजका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्ने, मनोरञ्जनात्मक कार्यक्रम गर्ने चलन पनि बढ्दो छ। काठमाडौँ उपत्यका बाहेक बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा पनि गाईजात्रा उत्साहपूर्वक मनाइन्छ।

