धनगढी- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराई क्षेत्रमा अवस्थित छ, जसका कारण वर्षाको सम्भावना बढेको हो।
बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश ठाउँमा बदली रही बाँकी क्षेत्रमा सामान्य बदलीको अवस्था देखिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम खालको वर्षा भइरहेको छ।
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा अधिकतर बदली रहनेछ। ती क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।
रातिको समय देशभर सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले मनसुन सक्रिय रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

