काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ।
उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकीलगायतका पहाडी भूभागका केही स्थान तथा अन्य भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती–गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

