बैतडी- भारतको उत्तराखण्ड प्रदेशमा हुन लागेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लाका नेपाल–भारत सीमाका नाका बन्द हुने भएका छन्।
भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचनको मिति तय भएको छ। उक्त निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउनका लागि नेपालतर्फका सीमावर्ती नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार दार्चुलास्थित पुलघाट नाका जुलाई २१ (साउन ५) को बेलुकादेखि जुलाई २४ (साउन ८) को बिहानसम्म बन्द हुनेछ। यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहनेछ।
निर्वाचनको सुरक्षा चासोलाई दृष्टिगत गर्दै सीमा बन्द गरिएको जनाइएको छ। यद्यपि, अत्यावश्यक वा आकस्मिक परिस्थितिमा दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन्।

