दार्चुला- जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङमा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए।
उनका अनुसार आज मध्यान्ह १२ बजे बुढाथोकी दुम्लिङबाट भारतीय बजारतर्फ जाँदै गर्दा तुइन अचानक चुडिएर महाकाली नदीमा खसेका हुन्।
बेपत्ता बुढाथोकीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ।
दुम्लिङमा झोलुङ्गे पुलको अभावका कारण स्थानीयवासी जोखिम मोलेर तुइन प्रयोग गर्न बाध्य छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

