कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान देखापरेपछि बस्तीमा त्रास फैलिएको छ। वर्षात् सुरु भएसँगै भारतीय दुधुवा नेसनल पार्कबाट हात्ती चुरे क्षेत्रमा आइपुगेका हुन्। यसपटक अन्य वर्षको तुलनामा चाँडै हात्ती आएको बताइएको छ।
सामुदायिक वनहरूमा हात्ती देखापर्न थालेपछि घाँस, दाउरा तथा सोतरका लागि वनमा जान उपभोक्तालाई रोकिएको छ। वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार हात्तीको बथान बाँसघारीमा देखिएको छ र उपभोक्तालाई वन क्षेत्रमा नजान अनुरोध गरिएको छ।
बैजनाथ सामुदायिक वन अध्यक्ष बहादुरसिंह महराका अनुसार मानव बस्तीमा हात्ती पसेर क्षति पुर्याउने सम्भावना उच्च छ। त्यसैले स्थानीयलाई साँझबिहान वन क्षेत्रमा जान रोकिएको छ भने दिउँसो सतर्कता अपनाउन सुझाव दिइएको छ।
हाल चुरे क्षेत्रमा १०–१५ हात्ती रहेको अनुमान छ। विगत तीन वर्षदेखि हात्तीले बस्तीमा पसेर मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ। धान पाक्दासम्म हात्ती चुरेमै बस्ने र त्यसपछि बस्ती छिर्ने क्रम दोहोरिने गरेको छ।
हात्ती नियन्त्रणका लागि ‘मेसवायर’ जडान गरिए पनि हात्तीले भत्काउने गरेको छ। सौर्य ऊर्जामा आधारित विद्युतीय प्रवाहयुक्त तारको माग गरिँदै आएको वडा नं ७ का दानसिंह कुवँरले बताए।
हात्तीको त्रासका कारण सिमलफाँटाका धेरै बासिन्दा खेतीपाती छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्। हात्ती धानबाली सकेपछि फर्किए पनि गहुँबाली हरियो हुनासाथ पुनः आउने गरेका छन्। यसले दीर्घकालीन समाधानको आवश्यकता औंल्याएको छ।

