कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको झल्को, आफ्ना बालबच्चा, श्रीमान् र न्यानो छानाको आशा बोकेर उनी फर्किएकी थिइन्। तर त्यो न्यानो छानामुनि उनलाई ठाउँ थिएन — महिनावारी भएको भन्दै उनलाई धपाइयो, घरको छेउमै बनाइएको छाउगोठमा।
शनिबार राति कृष्णपुर नगरपालिका–१, निगाली। उस्तै अँध्यारो रात थियो, जस्तै अँध्यारो समाजको सोच। कमला छाउगोठमा सुतिरहेकी थिइन्। अचानक केही चिसो महसुस भयो – त्यो चिसोपन एउटा विषालु सर्पको दंश थियो। गालामा टोकेर गयो। कराउँदै कमलालाई अस्पताल पुर्याइयो, सेती प्रादेशिक अस्पताल। तर समयले साथ दिएन। उपचारकै क्रममा उनले प्राण छाडिन्।
श्रीमान् पुरन दमाई भन्छन्, “हाम्रो घर पक्की हो। बस्न ठाउँ पनि थियो। तर समाजको डरले उसलाई गोठमै राख्नुपर्यो।”
कमलाले बस्नुपरेको त्यो गोठ छिमेकीको घरछेउमा अलिकति टिन, केही बाँस र धेरै लाजको भरमा बनेको थियो।
कमला मात्र होइनन्, अझै पनि देशभरका सयौँ, हजारौँ महिलाहरूले महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य जीवन बिताइरहेका छन्। कहिले आगोले, कहिले चिसोले, कहिले जनावरले, र आज — फेरि एक पटक, सर्पले एउटा जीवन लिएको छ।
कमलाको मृत्युले फेरि एउटा चोटिलो प्रश्न उठाएको छ — “महिनावारी भनेको लाज हो कि जीवनको प्रकृति ?”
रुढीवादी सोचकै कारण एक सक्षम, जीवित, संघर्षशील महिलाले ज्यान गुमाउनु परेको यो घटनाले हाम्रो सभ्यताको आडमा लुकेको असभ्यता उजागर गरिदिएको छ।
अब पनि मौन बस्ने ?
सरकारले छाउपडी प्रथा अन्त्यको घोषणा गरेको वर्षौं भइसक्यो। कानुन बने, सजायको चेतावनी दिइयो। तर व्यवहार कहाँ बदलिएको छ ?
कमलाको मृत्युले अब हामी सबैलाई आ–आफ्नो जिम्मेवारी लिने बेला आएको सन्देश दिएको छ।

