धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, उद्दार गरिएकामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, ३५ वर्षीय विकट सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिर सार्की तथा वेदकोट नगरपालिका–७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन्।
उनीहरू श्राद्ध गर्न गोदावरी नदीमा गएका बेला एक्कासी आएको बाढीका कारण टापुमा फसेका थिए। बाढीको जानकारी प्राप्त भएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी इञ्जिनियर गोगन बहादुर हमाल उद्दार टोलीसहित घटनास्थल पुगेका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्दार कार्य सम्पन्न गरेको थियो। गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट समेत उद्दार स्थलमा पुगेका थिए।
हालको वर्षातसँगै बाढी र पहिरोजस्ता प्राकृतिक विपद्ले धनजनको क्षति पुर्याउने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

