काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेकाले विभिन्न प्रदेशमा वर्षा सम्भावना देखिएको हो।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही भागमा मेघगर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ।
आज राति पनि यस्तै अवस्था रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। केही स्थानमा वर्षा भइरहेको र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।
महाशाखाले बाढी, पहिरो र चट्याङको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

