बझाङ: नेकपा एमाले बझाङमा पछिल्लो समय आन्तरिक गुटबन्दी र विवाद चर्किदै गएको छ । जिल्लाको तल्लो भाग देउलेखमा असार १० र ११ गते बसेको जिल्ला कार्यसमितिको बैठकले संगठनात्मक सुदृढीकरणमा जोड दिने निर्णय लिएको थियो । तर उक्त बैठकलाई प्रदेशसभा क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा र जिल्ला इन्चार्ज भैरव सिंहले अनाधिकृत भन्दै सामाजिक सञ्जालमा खुला असहमति जनाएपछि विवाद झन् नयाँ उचाइमा पुगेको छ ।
२०८१ मंसिर २४–२६ गतेको स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचित वर्तमान जिल्ला कमिटीको निर्णयलाई खुलेआम अस्वीकार गर्दै भैरव सिंह स्वयं पार्टी अनुशासन र विधानको उल्लंघन गर्दै आइरहेका छन् । इन्चार्जको हैसियतमा पार्टी एकता र अनुशासन कायम गर्नुपर्ने जिम्मेवारी वहन गर्नु पर्नेमा, उनले उल्टै कार्यसमितिको अधिकारमाथि प्रश्न उठाउँदै असहयोग र विरोधको बाटो अँगालेका छन् ।
जिल्ला कमिटी सचिव नयन बोहराले इन्चार्ज सिंहलाई असार ३ गते नै बैठकबारे जानकारी गराइएको र सिंहले “ठिक छ” भन्ने मौखिक स्वीकृति दिएपछि मात्रै बैठक बोलाइएको स्पष्ट पारेका छन् । “आफ्नै स्वीकृतिमा बसेको बैठकलाई पछि आएर अस्वीकार गर्नु, व्यक्तिगत राजनीतिक स्वार्थको पराकाष्टा हो”, सचिव बोहराले भने ।
अचम्मको कुरा त के छ भने इन्चार्जसँग नजिक मानिने अफिलाल ओखेडा र सावित्री विष्ट (सविता खड्का)ले बैठकमै विरोध जनाउँदै भिडियो बनाएर विपक्षी दलहरूसँग सामाजिक सञ्जालमा प्रचारप्रसार गराउन थाले । यसबाट एमालेको संगठनात्मक मर्यादा मात्र होइन, आन्तरिक अनुशासनसमेत गम्भीररूपमा क्षतविक्षत भएको पार्टिका आन्तरिक नेता कार्यकर्ताहरू बताउँछन ।
“पार्टी विधानअनुसार बैठकमा अवरोध सिर्जना गर्ने, विरोधजन्य गतिविधि गरेर त्यसको प्रचार गर्ने जो-कोहीमाथि आवश्यक कारबाही हुन्छ”, जिल्ला सचिव बोहराले कडा चेतावनी दिएका छन् ।
ओखेडा ‘अतिथि’का रूपमा आमन्त्रित व्यक्ति थिए । तर उनले आफूलाई परिचालित गराउँदै बैठक विथोल्ने प्रयोजनमा लागेको भन्दै पार्टीभित्र नै उनको भूमिका र मर्यादामाथि प्रश्न उठेको छ । नेताहरूको भनाइमा— “पार्टीको वैधानिक समिति, वैध निर्णय र निर्वाचनप्रति विश्वास नगर्ने प्रवृत्तिले पार्टीभित्रै खतरनाक संस्कार जन्माउँदैछ।”
पार्टी अनुशासन, पद्धति र विचारमा विश्वास राख्ने जिल्ला कमिटीको नेतृत्वलाई कमजोर पार्ने प्रयास गरिएको भन्दै अब उक्त घटनामा संलग्नहरूलाई आवश्यक छानबिनपछि कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला कमिटिले बताइएको छ ।

