काठमाडौँ — देशका धेरै ठाउँमा रातभर पानी परे पनि अहिले वर्षाको क्रम केही घटेको छ। विशेषगरी मकवानपुरमा राति तीव्र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हालको अवस्थामा देशभर अत्यधिक वर्षा नभए पनि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
लगातारको झरीका कारण नदी, खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान सम्भावित स्थानहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
गएको जेठ १५ गते कोशी प्रदेश हुँदै भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको पुष्टि भएको छ। महाशाखाका अनुसार मनसुन अझै केही दिन सक्रिय रहनेछ।

