काठमाडौं, — नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं राष्ट्रिय अधिवेशन आगामी शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ। अधिवेशन सुरु हुनुअघि नै संगठनको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा चर्किएको छ। अध्यक्ष पदमा हालका अध्यक्षसहित चार जना वरिष्ठ स्वास्थ्यकर्मीहरूले औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन्।
अध्यक्ष पदका आकांक्षीहरूमा वर्तमान अध्यक्ष डा. झलक शर्मा, उपाध्यक्ष जगत नेपाली, भिमराज सिंह र रामहरि ढकाल रहेका छन्। चारैजनाले अधिवेशनका प्रतिनिधिहरूको समर्थन जुटाउन तीव्र रूपमा लबिइङ सुरु गरिसकेका छन्। उनीहरू पार्टीका नेताहरूसँग भेटघाट गर्दै आफ्ना पक्षमा माहोल बनाउने प्रयासमा जुटिरहेका छन्।
वर्तमान अध्यक्ष डा. शर्माले संगठनलाई अझ मजबुत बनाउने उद्देश्यले फेरि नेतृत्वमा आउन चाहेको बताए। “संगठन ठूलो बनिसकेको छ, मसँग समय र योजना दुवै छन्,” उनले भने। उपाध्यक्ष समेत रहेका अर्का आकांक्षी जगत नेपालीले आफ्नो उम्मेदवारी स्वभाविक भएको बताए। “स्वास्थ्यकर्मी, नर्स र चिकित्सकहरूको हकहितका लागि म सधैं सक्रिय छु,” उनले भने।
उपाध्यक्ष भिमराज सिंहले भने महाधिवेशन प्रतिनिधिहरूको चाहनाअनुसार आफूले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेको जानकारी दिए। अर्का दावेदार रामहरि ढकाल पनि संगठन सुदृढ पार्ने एजेन्डासहित नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित आठ वटा संगठनहरूको साझा छाता संगठन भएकोले यस महासंघको नेतृत्वमा राजनीतिक दलहरूको चासो समेत रहने गरेको छ। नेकपा एमाले निकट यो महासंघको नेतृत्वले भविष्यमा संगठनको दिशा निर्धारण गर्ने भएकाले अधिवेशनप्रति उच्च चासो देखिएको छ।

