बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष विजयबहादुर धामीको स्वरमा रहेको लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक भएको छ। पारिवारिक भावनाले भरिएको यो गीत शुक्रबार सुनिल नेपाली ,अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा विजयधामीसँगै गायिका सोनिया परियारको पनि स्वर सुन्न सकिन्छ। यस गीतका शब्द गायक धामीका दिवंगत दाजु सत्यराम धामीले लेखेका हुन्। संगीत पनि धामीकै रहेको छ।
म्युजिक भिडियोमा दशरथ जप्रेल, अशोक धामी, मनिषा सिंह, जानकी बोहरालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोलाई छबिसपाथिभेरा–७ का विभिन्न प्राकृतिक लोकेसनहरूमा छायांकन गरिएको छ, जसले गीतको भावनालाई जीवन्त बनाएको छ।
वियोग, आत्मीयता र सम्झनाको गहिरो भाव बोकेको यो गीतले श्रोताको हृदय छोने अपेक्षा गरिएको छ। मौलिक लोकदेउडा शैलीमा आधुनिक स्वाद मिसाएर तयार पारिएको यो सिर्जनाले सांगीतिक क्षेत्रमै छुट्टै प्रभाव पार्ने विश्वास गरिएको छ।
सांस्कृतिक गतिविधिमा सधैं सक्रिय रहँदै आएका वडाध्यक्ष धामीले यसपटक दिवंगत दाजुको रचनालाई स्वरमार्फत जिउँदो बनाउँदै संगीतमा श्रद्धाञ्जली अर्पण गरेका छन्। गीत सँगै उहाँको भावनात्मक पक्ष पनि झल्किएको छ।

