धनगढी— कैलालीको घोडाघोडी नगरपालिका–५ मा माइक्रो बसले ठक्कर दिँदा सशस्त्र प्रहरी बलका एक हवल्दार गम्भीर घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बा ५ ख ४३१७ नम्बरको माइक्रो बसले सुपप्र ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ निवासी ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका हुन्। उनी सशस्त्र प्रहरी बलको राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत हवल्दार हुन्।
बमको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ र उनको उपचार धनगढीस्थित निजी अस्पतालमा भइरहेको छ।
घटनापछि माइक्रो बस चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ३९ वर्षीय कृष्ण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

