धनगढी- कैलालीका एक युवकले चिसापानी–कुइने सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा चिसापानी पुलमै अनशन सुरु गरेका छन्। स्थानीय नेत्र भण्डारीले पुलमाथि सुतेर शान्तिपूर्ण अनशन थालेका हुन्।
सडक निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भए पनि अझैसम्म काम सुरु हुन सकेको छैन। मन्त्रिपरिषद्ले रुख कटानका लागि आवश्यक निर्णय गरिसके पनि वन विभागले आदेश नदिँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।
२०७९ साउन ३ गते सम्झौता भएको यो ७.२ किलोमिटर लामो सडक कालोपत्रे गर्ने काम दिव्यज्योती–शाही जेभीले १२ करोड ८० लाख रुपैयाँमा पाएको थियो। तर, सडक खण्डमा रहेका ४७२ वटा रुख हटाउने अनुमति नआउँदा निर्माण थालिएको छैन।
साइट इन्जिनियर चित्र चौलागाईका अनुसार, वन विभागको अनुमति पाएलगत्तै काम सुरु गर्न सकिनेछ। अनशनकारी भण्डारीले भने, “सरकारको विकास निर्माणमा सघाउने उद्देश्यले अनशन थालेको हुँ। रुख कटानको आदेश आयो भने तुरुन्त अनशन अन्त्य गर्छु।”

