बैतडी— सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारतबाट ६१ करोड ७० लाख रुपैयाँभन्दा बढीको खाद्यान्न आयात गरिएको छ। बैतडीमा कृषि विकास निर्देशनालयले आयोजना गरेको स्थानीय तहसँग समन्वयात्मक गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।
गोष्ठीमा प्रस्तुत विवरणअनुसार साउनदेखि कार्तिकसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट दाल, चामल, मकै, गहुँ, फलफूल, तरकारी तथा पशु आहाराको आयात भएको हो। कृषि निर्देशनालय, दिपायल डोटीका अनुसार सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर बाहेक अन्य सात पहाडी जिल्लामा खाद्यान्न संकट देखिएको छ।
प्रदेशका २६ लाख ९६ हजार जनसंख्याका लागि वार्षिक ५ लाख १३ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ भने १ लाख ५९ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने अनुमान गरिएको छ।
सबैभन्दा बढी खाद्यान्न संकट बैतडीमा रहेको छ, जहाँ वार्षिक १६ हजार ५११ मेट्रिक टन खाद्यान्न अपुग हुने देखिएको छ। त्यसपछि अछाममा ४ हजार ८१० मेट्रिक टन, दार्चुलामा ४ हजार १२० मेट्रिक टन, बाजुरामा ३ हजार ५१७ मेट्रिक टन, बझाङमा २ हजार ६२३ मेट्रिक टन, डडेलधुरामा १ हजार ३५ मेट्रिक टन र डोटीमा ५२९ मेट्रिक टन अपुग हुने अनुमान गरिएको छ।
गोष्ठीमा खाद्य आत्मनिर्भरताको आवश्यकता र स्थानीय तहले कृषि उत्पादन वृद्धिमा खेल्नुपर्ने भूमिकाबारे पनि छलफल गरिएको थियो।

