बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
यस्तै, पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेश कोली र दशरथचन्द नगरपालिका –१० की ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
देहिमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटना भएको थियो ।
चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।

