काठमाडौं- नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन गरिरहेको जानकारी दिए ।
स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरा र, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चल्ने अध्यक्ष सुवेदीले जानकारी दिएका छन् ।
नेपाल शिक्षक महासङ्घ र सरकार बिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य रहेको छ । आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुने महासंघले जानकारी दिएको छ ।

