चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन। त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन्। पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ। मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए।
उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए। उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो। यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ।
जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ। यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषकलाई कृषि क्षेत्रतर्फ आकर्षित गरिरहेको छ। यसको लक्ष्य ग्रामीण भेगका नागरिकको आम्दानी बढाउने, आधुनिक कृषि गर्न प्रेरित गर्ने, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने रहेको बताइएको छ। सो परियोजनाका अधिकृत कठरियाले किसानहरूलाई विभिन्न विउविजनहरु पनि बाँडिएको बताए।
उनले गोलभेँडा, केराउ, प्याज, मुला, काउली, सिमी, बोडीलगायतका विउविजन वितरण गरिएको जानकारी दिए। यो परियोजनाले अहिले सोकट र सिउँडीमा काम गरिरहेको छ। आगामी वर्षहरूमा अन्य वडामा पनि काम गर्ने आफ्नो योजना रहेको उनले बताए। यसअघि सो परियोजना अन्तर्गत किसानहरुको खेतको माटोसमेत परिक्षण गरिएको थियो।
यो परियोजनाले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, माटोको उर्वराशक्ति पहिचान, र जलवायु मैत्री कृषि अभ्यास अवलम्बन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। यसै गरी आइतबारबाट तरकारी खेती सम्बन्धी तालिम पनि सुरु गरिएको छ। यो तालिम १८ वटै समूहका किसानहरूलाई दिइने परियोजना अधिकृत कठरियाले जानकारी दिए।

