बागलुङ —अस्पतालमा कार्यरत सहकर्मी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई धम्क्याउने धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् ।
पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाइ शाहले केही दिनअघि निधारमा गोलीको टिका लगाइदिने धम्की दिएका थिए ।
उक्त धम्की दिएपछि काम गर्न असहज भएको भन्दै सुरक्षा मागेर प्रशासनमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पारेका थिए । प्रशासनमै भएको सर्वपक्षीय बैठकमा शाहले लिखित माफी मागेका हुन् ।
अत्यावश्यक सेवा भएकोले चिकित्सक र स्वास्थ्यकर्मीले पनि आन्दोलन छाडेर काममा फर्केका छन् । प्रजिअ सुवेदी सहित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेल, व्यवस्थापन समितिका सदस्यहरु, प्रमुख मेडिकल अधिकृत रविरन्जन प्रधान लगायतको उपस्थितिमा उक्त सहमति भएको हो ।
अस्पतालमा दैनिक ४ सय जना सम्म बिरामी उपचारकालागि जाने गरेका छन् । तर शाहको धम्कीले चिकित्सकले काम गर्न सकेका थिएनन् । शाहले डाक्टरहरुलाई निधारमा गोलीको टिका लगाइदिने धम्की दिएको पीडितले गुनासो गरे । उनीहरुले अस्पताल प्रशासनलाईपनि ध्यानाकर्षण पत्र बुझाएका थिए । शाहले धम्की दिएपछि कतिपयले उनी भएको स्थानमा जान समेत डराएका थिए ।
अस्पताल व्यवस्थापन समितिले पनि शाहलाई स्पष्टीकरण सोधेर पीडितलाई काम गर्ने वातावरण बनाउने निर्णय गरेको एक सदस्यले बताए । पछिल्लो समय अस्पतालमा विभिन्न कारणले उपचार सेवा समेत प्रभावित भएको गुनासो आएको छ । मेसु प्रधान र व्यवस्थापन समितिबीच पनि राम्रो सम्बन्ध छैन । जसका कारण उपचार सेवामा पनि असर परिरहेको छ ।

