बझाङ : बझाङमा पनि ज्वरो आउने, रुघाखोकी र डेङ्गुका बिरामी बढेका छन् । यस्ता बिरामीको सङ्ख्या बढेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ ।
जिल्ला अस्पताल बझाङमा हाल भाइरल ज्वरो रुघाखोकीका बिरामी बढेको अस्पतालका प्रमुख नवराज जोशीले बताउनुभयो । उहाँले पछिल्लो केही दिन यता बिरामीको संख्या दोब्बरले बढेको बताउनुभयो ‘अहिले भाइरलको सिजन भएकोले अस्पतालमा बिरामीको चाप बढेको छ’ उहाँले भन्नुभयो ‘ ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी बढेका छन ।’उहाँले यस्तो समस्या बच्चा देखि बुढा सम्म सबैमा देखिएको बताउनुभयो ।

उहाँका अनुसार हाल अस्पतालमा दैनिक १०० देखि डेढ सयको संख्यामा बिरामी आउने गरेका छन । अस्पतालमा हाल डाक्टरले बिरामी चेकजाँच गर्दै आएका छन् । बझाङका अन्य स्वास्थ्यसंस्थाहरुमा पनि अहिले भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।
भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । बझाङमा डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको जिल्ला अस्पताल बझाङ जनाएको छ ।
साउन महिनामा १२ जना संक्रमित रहेको बझाङमा अहिले ८० जना डेंगुका संक्रमित फेला परिसकेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।