धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
थापाले सभामुखसमक्ष राजीनामा बुझाए पनि उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । बजेटप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएपछि एमालेभित्रको विवादबारे चर्चा चुलिएको छ ।
मंगलबार प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा आफ्नो धारणा राख्न चाहेका थापाले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग बोल्ने समय माग गरेको बताइएको छ । तर, रावलले उनलाई बोल्न समय नदिएको जनाइएको छ ।
थापाको राजीनामा स्वीकृत नगर्न पार्टीका केन्द्रीय नेताहरूले दबाब दिइरहेको बताइएको छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्षको बजेट पारित भएको छ ।

