धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा तथा बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र आसपासका क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले दसैँ नमनाउने निर्णय गरेको बताएका छन्।
बाढीका कारण धेरै परिवार घरबारविहीन हुनुका साथै कतिपयले आफ्ना आफन्त र प्रियजन गुमाउनुपरेको उल्लेख गर्दै साउदले देशका नागरिक विपत्तिमा परेका बेला आफूले उत्सव मनाउन उचित नठानेको बताएका छन्।
‘जब देशको एउटा ठूलो हिस्सा पीडामा छ र हजारौँ परिवार आँसुमा डुबिरहेका छन्, तब मेरो मनले कसरी खुसी मनाउन सक्छ?’ उनले आफ्नो भनाइमा उल्लेख गरेका छन्।
दसैँ खुसी र उमङ्गको पर्व भए पनि विपत्तिमा परेका नागरिकको दुःखलाई आत्मसात् गर्दै व्यक्तिगत रूपमा यस वर्ष दसैँ नमनाउने निर्णय गरेको उनको भनाइ छ। उनलेे थप्दै भने, हाम्रो परम्परा परिवारजनमा कुनै सदस्यको मृत्यु हुँदा मुख्य पर्व नमनाउने छ , देशका हरेक नागरिक मेरो परिवार हुन त्यसकारण म यो उल्लासको पर्व मनाउन सक्दिनँ ।
त्यस्तै साउँदले विपत्तिमा परेका परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ताहरूको सकुशल उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित परिवारको जीवनमा पुनः खुसी फर्कियोस् भन्ने कामना गरेका छन्। उनले मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै दुःखमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।

