धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययनमा ५० सिट प्राप्त गरेको छ।
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने बाटो खुलेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विभिन्न चिकित्सा शिक्षा कार्यक्रमका लागि सिट निर्धारण गरेको हो। आयोगका अनुसार गत वर्षको तुलनामा यस वर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थपिएका छन्। एमबीबीएसमा मात्रै ११० सिट वृद्धि गरिएको छ।
विश्वविद्यालयले एमबीबीएससँगै नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा पनि अध्यापनका लागि सिट माग गरेको थियो।
विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार जोशीका अनुसार एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी एमएलटीमा १० र बी अप्टोमेट्रीमा १० सिट प्राप्त भएका छन्।

