काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार्ड उपलब्ध गराउने ‘हुलाक–सिम सेवा’ सुरु गरेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हिजो मन्त्रालयबाट उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।
नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपाल टेलिकमको वेबसाइटमा रहेको ‘पोस्टल सिम पोर्टल’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवश्यक कागजातको जाँचपछि सिमकार्डको ९० रुपैयाँ र हुलाकमार्फत वितरण शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ अनलाइन भुक्तानी गर्नुपर्नेछ।
भुक्तानी प्रक्रिया पूरा भएपछि नजिकको हुलाक कार्यालयका कर्मचारीले ग्राहकको घरमै सिमकार्ड पुर्याउनेछन्। सरकारले सहरी क्षेत्रमा दुई घण्टाभित्र र ग्रामीण क्षेत्रमा तीन दिनभित्र सिमकार्ड वितरण गर्ने लक्ष्य लिएको छ।
सेवा शुभारम्भका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक सरकारी कुरियरका रूपमा विकास गर्ने र आगामी दिनमा अन्य प्रशासनिक सेवालाई समेत डिजिटल प्रणालीमा लैजाने बताउनुभयो।

