बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिएका छन् । ३५ वर्षको उमेरमै विद्यार्थी राजनीतिदेखि पार्टी संगठन, जनप्रतिनिधि र जिल्ला कमिटीसम्मको अनुभव हासिल गरेका उनी राजनीतिक अनुभव, समन्वयकारी क्षमता र स्वच्छ छविका कारण चर्चामा छन् ।
जोशीको राजनीतिक यात्रा २०६३ सालमा चौधारी माध्यमिक विद्यालय इकाइ कमिटी अध्यक्षबाट सुरु भएको हो । सानै उमेरदेखि राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका उनले विभिन्न समयमा पार्टीका संगठनात्मक जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन् । २०६६ सालमा मौलाली गाउँ विकास समिति उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०६८ सालमा ७ नम्बर इलाका कमिटी सचिव बने । त्यसपछि २०७१ सालमा २ नम्बर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरे । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा क्रमशः स्थानीय तह हुँदै पार्टीको क्षेत्रीय र जिल्ला नेतृत्वसम्म पुगेको देखिन्छ ।
२०७४ सालमा जोशि दुर्गाथली गाउँपालिका ४ को वडा अध्यक्षमा निर्वाचित भए । जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनले स्थानीयस्तरमा विभिन्न विचार, समूह र पृष्ठभूमिका व्यक्तिहरूसँग समन्वय गर्दै अघि बढ्ने प्रयास गरे । वडा अध्यक्षका रूपमा उनको कार्यकाललाई सम्झँदा सबैलाई मिलाएर लैजान सक्ने स्वभाव, सहकार्य र समन्वय गर्ने शैली उनको राजनीतिक व्यक्तित्वका महत्त्वपूर्ण पक्षका रूपमा चर्चा गरिन्छ ।
स्थानीय राजनीतिमा नेतृत्वको मूल्यांकन केवल पार्टीगत आबद्धताका आधारमा मात्र हुँदैन । जनतासँगको सम्बन्ध, फरक विचार राख्ने व्यक्तिसँगको व्यवहार, विवादलाई व्यवस्थापन गर्ने क्षमता र जिम्मेवारी निर्वाह गर्ने शैलीले पनि नेताको राजनीतिक भविष्य निर्धारण गर्ने गर्दछ । यही दृष्टिकोणबाट हेर्दा दुर्गाथली गाउँपालिका ४ को वडा अध्यक्षका रूपमा काम गरिसकेका यी युवा नेताको अनुभव आगामी स्थानीय नेतृत्वका लागि महत्त्वपूर्ण आधार बन्न सक्ने सम्भावना देखिन्छ ।
जोशिको अर्को विशेषता भनेको राजनीतिक रूपमा फरक विचार राख्ने व्यक्ति तथा समूहलाई समेत समेटेर अघि बढ्न सक्ने स्वभाव हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि सबै नागरिकसँग समान व्यवहार गर्नु र सहकार्यको वातावरण बनाउनु महत्त्वपूर्ण मानिन्छ । उनी वडा अध्यक्ष रहँदा सबैलाई मिलाएर लैजान सक्ने नेताका रूपमा परिचित हुनु उनको राजनीतिक पहिचानको एउटा महत्त्वपूर्ण पक्ष हो । २०७७ सालमा नेकपा विभाजन भएपछि पनि जोशी नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने । त्यसपछि पनि पार्टी संगठनमा सक्रिय रहँदै पुनः २०८१ सालमा जिल्ला कमिटी सदस्यमा निर्वाचित भए । हाल उनी नेकपा एमालेको दुर्गाथली गाउँपालिका ४ का वडा इन्चार्जका रूपमा जिम्मेवारीमा छन् ।
उनको राजनीतिक यात्रामा देखिने अर्को पक्ष भनेको उमेरको तुलनामा हासिल गरेको संगठनात्मक अनुभव हो । ३५ वर्षको उमेरमै विभिन्न तहका कमिटीमा रहेर काम गरेको अनुभव, स्थानीय निर्वाचनमा प्राप्त जनप्रतिनिधिको जिम्मेवारी र पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्ने अवसरले उनलाई स्थानीय राजनीतिमा अनुभवी युवा नेताका रूपमा स्थापित गरेको छ । दुर्गाथली गाउँपालिकाको अध्यक्ष बन्ने आकांक्षा राख्ने नेताका लागि पार्टीभित्रको समर्थनसँगै स्थानीय नागरिकको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । गाउँपालिकाको विकास, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, रोजगारी र सुशासनजस्ता विषयमा जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । त्यसका लागि स्थानीय समस्या बुझ्ने, नागरिकका गुनासा सुन्ने र फरक राजनीतिक विचार भएका व्यक्तिसँग समेत सहकार्य गर्न सक्ने क्षमता आवश्यक हुन्छ । वडा अध्यक्षका रूपमा काम गरिसकेको अनुभवले उनलाई स्थानीय तहको कार्यप्रणाली र नागरिकका अपेक्षा बुझ्ने अवसर दिएको छ । गाउँपालिकाको अध्यक्षको जिम्मेवारी वडा अध्यक्षको भन्दा फराकिलो हुने भएकाले पालिकाका सबै वडालाई समान दृष्टिले हेर्ने, स्रोतसाधनको न्यायोचित वितरण गर्ने र समग्र गाउँपालिकाको विकासलाई प्राथमिकतामा राख्ने क्षमता आगामी दिनमा उनको नेतृत्वको महत्त्वपूर्ण परीक्षण हुनेछ ।
स्थानीय राजनीतिमा स्वच्छ छविको पनि विशेष महत्त्व हुन्छ। जनताले आफ्नो नेतृत्वमा इमानदारी, पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको अपेक्षा गर्छन् । उनीमाथि कुनै विवाद वा दाग लागेको विषय सार्वजनिक रूपमा चर्चामा नरहेको र सबैलाई मिलाएर लैजान सक्ने नेताका रूपमा उनको परिचय रहेको दाबीले उनलाई सम्भावित उम्मेदवारका रूपमा थप चासोको पात्र बनाएको छ ।

