जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसकेको एक अध्ययनले देखाएको छ।
अध्ययनमा सहभागी ८२.७ प्रतिशत विद्यार्थीले रक्तदान गर्न इच्छुक रहेको बताए पनि १९.५ प्रतिशतले मात्र यसअघि रक्तदान गरेको पाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), कर्णाली प्राविधिक शिक्षालय (KTS) र जुम्ला बहुमुखी क्याम्पस (JMC) का ६४७ विद्यार्थीमा गरिएको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।
अध्ययनअनुसार ७३ प्रतिशत विद्यार्थीमा रक्तदानप्रति सकारात्मक दृष्टिकोण रहेको पाइएको छ। त्यस्तै, ९८ प्रतिशत विद्यार्थीले रक्तदानलाई पुण्य कार्य तथा सामाजिक दायित्व मानेका छन् भने ९८.३ प्रतिशतले अरूलाई रक्तदान गर्न प्रोत्साहित गर्ने बताएका छन्। आकस्मिक अवस्थामा आवश्यक परे ९०.४ प्रतिशत विद्यार्थीले रक्तदान गर्ने बताएका छन्।

तर रक्तदानप्रतिको सकारात्मक सोच र इच्छाशक्तिको तुलनामा वास्तविक रक्तदान गर्नेको संख्या निकै कम देखिएको छ। अध्ययनले विद्यार्थीमा ‘रक्तदान गर्न चाहना भए पनि अवसर नपाएको’ अवस्थालाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।
अवसरको अभाव मुख्य बाधक
विद्यार्थीले रक्तदान नगर्नुको प्रमुख कारणका रूपमा रक्तदान गर्ने अवसरको अभाव देखिएको छ। अध्ययनमा ४४.७ प्रतिशत विद्यार्थीले अवसरको अभावलाई रक्तदानमा मुख्य बाधक बताएका छन्।
यसका अतिरिक्त स्वास्थ्यसम्बन्धी कारण तथा सुईको डर पनि रक्तदानमा बाधकका रूपमा देखिएका छन्।
जुम्लाजस्तो दुर्गम हिमाली क्षेत्रमा नियमित रक्तदान शिविर तथा रक्त सङ्कलन सेवाको सीमित पहुँचका कारण रक्तदान गर्न इच्छुक विद्यार्थीसमेत व्यवहारमा सहभागी हुन नसकेको हुन सक्ने अध्ययनले जनाएको छ।
रक्तदानसम्बन्धी ज्ञानमा सुधार आवश्यक
अध्ययनले विद्यार्थीको रक्तदानसम्बन्धी ज्ञानको अवस्था भने अपेक्षाकृत कमजोर रहेको देखाएको छ। १९.३ प्रतिशत विद्यार्थीको मात्र रक्तदानसम्बन्धी ज्ञानस्तर राम्रो पाइएको छ।
त्यस्तै, ४३.७ प्रतिशत विद्यार्थीको ज्ञान कमजोर र ३६.९ प्रतिशतको मध्यम रहेको अध्ययनमा उल्लेख छ।
स्वास्थ्य विज्ञान अध्ययन गर्ने विद्यार्थीको रक्तदानसम्बन्धी ज्ञान गैर–स्वास्थ्य विज्ञानका विद्यार्थीको तुलनामा राम्रो देखिएको थियो। उमेर तथा अध्ययनको वर्ष बढ्दै जाँदा रक्तदानसम्बन्धी ज्ञानमा पनि सुधार देखिएको अध्ययनले जनाएको छ।
पुरुष र स्वास्थ्य विज्ञानका विद्यार्थी बढी रक्तदाता
रक्तदानको वास्तविक अभ्यासमा विद्यार्थीको समूहअनुसार पनि फरक देखिएको छ।
अध्ययनअनुसार पुरुष विद्यार्थीमध्ये २६.८ प्रतिशतले रक्तदान गरेका थिए भने महिला विद्यार्थीमा यो अनुपात १३.८ प्रतिशत थियो।
त्यस्तै, स्वास्थ्य विज्ञानका विद्यार्थीमध्ये २३.८ प्रतिशतले रक्तदान गरेका थिए भने गैर–स्वास्थ्य विज्ञानका विद्यार्थीमध्ये १२.१ प्रतिशतले मात्र रक्तदान गरेका थिए।
कलेजमै नियमित रक्तदान शिविर आवश्यक
विद्यार्थीमा रहेको सकारात्मक धारणा र उच्च इच्छाशक्तिलाई वास्तविक रक्तदानको अभ्यासमा रूपान्तरण गर्न कलेज तथा शैक्षिक संस्थामा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्ययनका लेखकहरूले सुझाव दिएका छन्।
अध्ययनले मोबाइल रक्तदान शिविर, नियमित रक्तदान अभियान, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत रक्तदानसम्बन्धी सूचना प्रवाहलाई विस्तार गर्नुपर्नेमा जोड दिएको छ।
नेपाल रेडक्रस सोसाइटी, स्थानीय स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाबीच सहकार्य गरी नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्न सके विद्यार्थीलाई स्वैच्छिक रक्तदानमा जोड्न सकिने अध्ययनको निष्कर्ष छ।
अध्ययनका प्रमुख अनुसन्धाता दिपेन्द्र मुरावका अनुसार विद्यार्थीमा रक्तदानप्रतिको सकारात्मक सोच र इच्छाशक्ति उत्साहजनक भए पनि त्यसलाई व्यवहारमा बदल्न पर्याप्त अवसर सिर्जना गर्न आवश्यक छ।
“विद्यार्थीहरूमा रक्तदान गर्ने इच्छा र सकारात्मक सोच दुवै छन्। तर इच्छा भएर मात्र पुग्दैन, त्यसलाई व्यवहारमा बदल्न आवश्यक अवसर पनि उपलब्ध हुनुपर्छ। कलेज तथा शैक्षिक संस्थामा नियमित रक्तदान शिविर सञ्चालन गर्नुका साथै रक्तदानसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ,” मुरावले भने।
जुम्लाको रक्त आपूर्ति प्रणालीमा युवाको योगदान
अध्ययनले जुम्लामा रक्तदानसम्बन्धी ज्ञान, दृष्टिकोण र अभ्यासको अवस्थाबारे महत्वपूर्ण आधारभूत तथ्याङ्क उपलब्ध गराएको छ।
अध्ययनका लेखकहरूका अनुसार कलेज तथा विश्वविद्यालय तहका विद्यार्थी भविष्यका दीर्घकालीन स्वैच्छिक रक्तदाता समूह बन्न सक्छन्। विद्यार्थीमा रहेको सकारात्मक सोच र रक्तदान गर्ने इच्छालाई नियमित अभ्यासमा रूपान्तरण गर्न सके जुम्लालगायत दुर्गम हिमाली क्षेत्रमा रक्तको उपलब्धता तथा आपूर्ति प्रणाली सुदृढ गर्न युवाको महत्वपूर्ण योगदान हुन सक्ने देखिएको छ।
यो अनुसन्धान डा. दीर्घ राज जोशीको नेतृत्वमा दिपेन्द्र मुराव, निशा अधिकारी र प्रदीप नारायण जोशी सम्मिलित टोलीले गरेको हो। अनुसन्धानकर्ताहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लास्थित स्कुल अफ फार्मेसीका हुन्।
अनुसन्धान सन् २०२६ मा प्रतिष्ठित Discover Public Health जर्नलमा प्रकाशित भएको जनाइएको छ।

