बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई आसन ग्रहण नगराएको भन्दै आपत्ति जनाइएको छ।
छबिसपाथिभेरा र दुर्गाथलि गाउँपालिकाको बिच बिसौनमा आइतबार मेला उद्घाटन कार्यक्रममा देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रहेको रास्वपाको टोली सहभागी भए पनि आयोजकले औपचारिक रूपमा आसन ग्रहण नगराएको भन्दै रास्वपाका प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका हुन्।
मेलामा सहभागी रास्वपाको टोलीलाई कार्यक्रममा उचित सम्मान तथा प्रतिनिधित्व नगराइएको भन्दै रास्वपा दुर्गाथलि गाउँ कमिटी उपसभापति प्रेम बहादुर जप्रेलले आफ्नो सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् । उनलेे आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, गजबकाे बिर्षति मेला धन्यवाद सञ्चालक ज्यु, बिराेध गर्न चाएकाे हाेईन , गम्भीर ध्यानाकर्षण गराउन चाएकाे हुँ ।
एउटा गम्भीर विषयप्रति आफ्ना केही कुराहरु स्पष्ट रूपमा राख्न चाहन्छु। देशकै ठूलो दलको रूपमा स्थापित हुँदै गएको राष्ट्रिय स्वतन्त्र पार्टीको दुर्गाथलिमा विधिवत् कार्यसमिति हुँदाहुँदै पनि, रास्वपा दुर्गाथलीका सभापतिज्यूलाई बिर्सति मेलाको कार्यक्रममा आसन ग्रहणका लागि स्थान नदिनु र नामसम्म उल्लेख नगर्नु अत्यन्तै दुःखद र अमर्यादित व्यवहार भएको महसुस गरेको छु।
बिर्सति मेला कुनै एक व्यक्ति, समूह वा दलको मात्र होइन,, यो हाम्रो साझा संस्कृति, परम्परा र पहिचानसँग जोडिएको सम्पूर्ण दुर्गाथलिवासीको र छविशपाथिभेरा मेला हो। त्यसैले यस्ता सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा सबै राजनीतिक दल, सामाजिक संघसंस्था र सरोकारवालाप्रति समान सम्मान र मर्यादा कायम हुनु आवश्यक छ।
आफ्नो पक्षलाई मात्र सम्मान गर्ने र अरूको अस्तित्वलाई बेवास्ता गर्ने प्रवृत्तिले मेलाको गरिमा बढाउँदैन, बरु आयोजक समितिको निष्पक्षता र परिपक्वतामाथि प्रश्न उठाउँछ। आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिई सबै पक्षलाई समान सम्मान र उचित स्थान दिनुपर्छ भन्ने अपेक्षा गर्दछु । – धन्यवाद
यस बिषयमा बिर्सती मेलामुल आयोजक समितिसँग कामना टेलिभिजनले बुझ्न खोज्दा फोन सम्पर्क भएन ।
मेलाको आइतबार प्रतिनिधि सभा सदस्य ऐन बहादुर महरले उद्घाटन गर्नुभएको छ ।


