काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
दुई देशबीच पाँच महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका हुन्।
बुधबार ट्रुथ सोसलमार्फत ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानले सम्झौताको अवसर उपयोग गर्न असफल भएको भन्दै अब उसले कठोर आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपन सामना गर्नुपर्ने बताएका छन्।
ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इरानलाई वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको भनाइ छ।
उनले इरानको तेल तस्करी, स्वाप लाइन, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा अग्रिम कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताएका छन्।
इरानबाट उत्पन्न खतरा हटाउन र उसलाई परास्त गर्न अमेरिकाका सबै सहयोगी राष्ट्रहरू आफ्नो साथमा उभिनुपर्ने ट्रम्पले बताएका छन्।
इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पले यसअघि पनि दिँदै आएका छन्। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाइसकेको छ।

