काठमाडौं- देशभर मनसुनी वायु सक्रिय रहँदा आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा हुने क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने जनाइएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र सडक यात्रामा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

