रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको छ। उनी चार दिदीपछिका एक्ला भाइ तथा परिवारका एक्ला छोरा रहेको बताइएको छ।
दुर्घटनामा सुजनकी ५७ वर्षीया आमा ज्ञानमती डंगौरा घाइते भएकी छन्। उनको खुट्टा भाँचिएको र निसर्ग अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्राप्त विवरणअनुसार, पश्चिमबाट पूर्वतर्फ भजनी जाँदै गरेको मोटरसाइकल कैलारी गाउँपालिका–३ मा तीव्र गतिका कारण नियन्त्रणमा लिन नसक्दा डल्लबसँग ठोक्किएको थियो। मोटरसाइकलमा सुजन र उनकी आमा सवार थिए।
दुर्घटनापछि घाइतेलाई अस्पताल पुर्याउन सरकारी एम्बुलेन्समा इन्धन नभएको भन्दै तत्काल सेवा उपलब्ध हुन नसकेको बताइएको छ। करिब आधा घण्टापछि घाइतेलाई हाइस गाडीमा राखेर अस्पताल लगिएको विवरण प्राप्त भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसमेत उपस्थित रहेको बताइए पनि घाइतेको उद्धारमा ढिलाइ भएको विषयले प्रश्न उठाएको छ।
परिवारका एक्ला छोराको मृत्युले सुजनको परिवारमा ठूलो बज्रपात परेको छ। चार दिदीका एक्ला भाइ गुमाउँदाको पीडा परिवारका लागि असह्य बनेको छ।
पछिल्लो समय हुलाकी राजमार्ग सञ्चालनमा आएपछि कैलारी गाउँपालिका क्षेत्रमा दुर्घटनाका घटना भइरहने गरेको स्थानीयको गुनासो छ। तीव्र गति नियन्त्रण, सडक सुरक्षा र दुर्घटनापछिको आकस्मिक उद्धारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
आपत्कालीन अवस्थामा प्रयोग हुनुपर्ने सरकारी एम्बुलेन्समा इन्धन नहुनुको कारण र घाइतेको उद्धारमा भएको ढिलाइबारे सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ। एम्बुलेन्समा इन्धन अभाव र उद्धारमा भएको ढिलाइबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ।

