काठमाडौं- अविरल वर्षापछि देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सेवा प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान ६ः२० बजेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी जोमसोम सडक, रुकुम पश्चिमको भेरी कोरिडोर, रसुवाको त्रिशूली, मैलुङ,स्याफ्रुबेशी सडक तथा दोलखाको लामासाँगु,रमेछाप राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।
सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग बन्द भएको हो। मुस्ताङको थासाङमा पहिरोले बेनी जोमसोम सडक अवरुद्ध बनाएको छ भने रसुवा र दोलखामा बाढीले सडक क्षति पुर्याउँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
जोखिम न्यूनीकरणका लागि बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथको हेटौँडा,ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।
यता, काठमाडौँको सितापाइला,धार्के सडक, भोजपुरको मध्य पहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी कोरिडोर र मनाङको चामे बेसीसहर सडकमा पहिरो पन्छाएपछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र वर्षायाममा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

