बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बिहीबार सूचना जारी गर्दै चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ९० दशमलब ०८ प्रतिशत खर्च भएको जनाएको हो।
सार्वजनिक गरिएको विवरणअनुसार गाउँपालिकाको कुल रु। ५७ करोड ६२ लाख ३६ हजार ३५५ रुपैयाँ १६ पैसा विनियोजन गरिएकोमा रु। ५१ करोड ९१ लाख २६ हजार ७ सय ७३ रुपैयाँ २६ पैसा खर्च भएको छ।
चालुतर्फ रु ४३ करोड ९८ लाख ३६ हजार ३५५ रुपैयाँ १६ पैसा विनियोजन गरिएकोमा रु ३९ करोड ६४ लाख ४४ हजार ९ सय ४८ रुपैयाँ ८० पैसा खर्च भई ९० दशमलब १३ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।
त्यस्तै पुँजीगततर्फ रु १३ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा रु १२ करोड २६ लाख ७३ हजार ८ सय ४८रुपैयाँ ४६ पैसा खर्च भई ८९ दशमलब ९३ प्रतिशत वित्तीय प्रगति हासिल भएको गाउँपालिकाले जनाएको छ।
वित्तीय प्रगति सार्वजनिक गर्दै गाउँपालिकाले बजेट कार्यान्वयनमा सहयोग पुर्याउने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति, सेवाग्राही तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।


