दिनेश बि.सि- कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन खुला गरेको छ।
विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको छ।
विद्यालयद्वारा जारी सूचनाअनुसार विपन्न तथा अति न्यून आर्थिक अवस्था भएका, गरिब तथा जेहेनदार, अपाङ्गता भएका, मेधावी, आदिवासी/जनजाति, दलित, टुहुरा तथा द्वन्द्वपीडित बालबालिकाले आवेदन दिन सक्नेछन्। इच्छुक तथा योग्य विद्यार्थीले वैशाख ३० गतेभित्र आवेदन फारम अनिवार्य रूपमा भरिसक्नुपर्नेछ।
आवेदनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस वा प्रमाणपत्रलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ। टुहुरा विद्यार्थीका हकमा आमा वा बुबाको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि समेत अनिवार्य गरिएको छ।
विद्यालयका अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि योग्य विद्यार्थीलाई लिखित परीक्षा र अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिनेछ। लिखित परीक्षा २०८३ जेठ २ गते सञ्चालन हुने जनाइएको छ।
विद्यालयका प्रधानाध्यापक युवराज बमले छात्रवृत्ति कार्यक्रममार्फत विपन्न तथा जेहेनदार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताए।


