धनगढी — सेती प्रादेशिक अस्पताल, कैलालीले सञ्चालन गरेको स्टाफ नर्स र अनमी पदको परीक्षा सम्बन्धी प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप लागेको छ।
अस्पतालले चैत ७ गते शनिबार स्टाफ नर्स र अनमीको परीक्षा सञ्चालन गरेको थियो। बिहान ९ बजेदेखि स्टाफ नर्स र दिउँसो ३ बजेदेखि अनमीको परीक्षा लिइएको थियो। तर स्रोतका अनुसार अनमीतर्फको प्रश्नपत्र टिकमार्कसहित परीक्षा सुरु हुनु अघि नै बाहिरिएको दाबी गरिएको छ।

स्रोतले जानकारी दिँदै भन्यो, “अनमीका १८ सिटका लागि परीक्षा भएको थियो, तर दिउँसो ३ बजे सुरु हुने परीक्षा भन्दा अगाडि नै प्रश्नपत्र सार्वजनिक भइसकेको थियो।”
यस विषयमा परीक्षा सञ्चालन समितिका संयोजक तथा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे सम्पर्कमा आउन सकेनन्। आफू बिरामी भएको जनाउँदै उनले निमित्तको जिम्मेवारी डा. खगेन्द्र भट्ट लाई दिएका छन्। डा. भट्टले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
यता, परीक्षा सञ्चालन समितिका सदस्य तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार ले भने प्रश्नपत्र बाहिरिएको आरोप निराधार भएको दाबी गरेका छन्। उनले भने, “परीक्षा पूर्ण रूपमा निष्पक्ष रूपमा सञ्चालन भएको छ। यो लोकसेवाको परीक्षा भन्दा कम छैन। प्रश्नपत्र बाहिरिएको भन्ने हल्ला गलत मनसायले फैलाइएको हो।”
यसैबीच, चैत ७ गते सञ्चालन भएको अनमी (ANM) र स्टाफ नर्सको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भन्ने विश्वसनीय सूचना प्राप्त भएको भन्दै परीक्षाको निष्पक्षता र विश्वसनीयतामा गम्भीर प्रश्न उठाइएको छ। यस्ता घटनाले मेहनतका साथ तयारी गरेका परीक्षार्थीहरूको मनोबलमा नकारात्मक असर पार्ने तथा न्यायोचित मूल्याङ्कन हुन नसक्ने अवस्था सिर्जना गर्ने देखिन्छ। त्यसैले सम्पूर्ण परीक्षार्थीहरूको हित तथा निष्पक्ष प्रतिस्पर्धाको सुनिश्चितताका लागि सम्बन्धित सबै जिम्मेवार निकायको ध्यानाकर्षण गराउँदै यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ।
उक्त परीक्षामार्फत २१ जना स्टाफ नर्स भर्ना गर्ने योजना रहेको छ, जसमा ३९ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। उनीहरूको अन्तर्वार्ता चैत १२ गतेबाट सुरु हुनेछ।
त्यस्तै, अनमीतर्फ १८ सिटका लागि भएको परीक्षामा २८ जना उत्तीर्ण भएका छन्, जसको अन्तर्वार्ता चैत १८ गते बिहान १० बजेदेखि सञ्चालन हुने अस्पतालले जनाएको छ।

