अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध्यक्षसमेत रहेका रामबहादुर साउँदसहित डुङ्ग्री टोलका ठूलो संख्यामा नेता तथा कार्यकर्ता आइतबार एमालेमा समाहित भएका हुन्।
आइतबार चौरपाटीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रमका क्रममा साउँदसहित करिब पाँच सय जना एमालेमा प्रवेश गरेको एमालेका चौरपाटीले जनाएको छ।
पार्टी फुटका बेला समाजवादीतर्फ लागेका साउँद अहिले आफ्ना समर्थकसहित पुनः एमालेमै फर्किएको जनाइएको छ। कार्यक्रममा डुङ्ग्री टोलका अधिकांश नेता तथा कार्यकर्ता सामूहिक रूपमा एमालेमा प्रवेश गरेका थिए।
पार्टी प्रवेशका क्रममा बोल्दै साउँदले जनपक्षीय काम गर्ने पार्टी एमाले भएकाले आफूहरू आफ्नै घरमा फर्किएको बताएका थिए। “जनताको पक्षमा काम गर्ने बलियो शक्ति एमाले भएकाले हामीले पुनः यही पार्टी रोजेका हौँ,” उनले भने।
साउँदसहित नवप्रवेशीलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा, एमाले उम्मेदवार दिपक साउँदलगायतका नेताहरूले स्वागत गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेका एमाले उम्मेदवार दिपक साउँद अहिले मतदातालाई धन्यवाद ज्ञापन गर्दै पार्टीलाई थप सुदृढ बनाउने अभियानमा सक्रिय रहेका छन्।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पछिल्लो समय एमालेप्रति नेता तथा कार्यकर्ताको आकर्षण बढ्दै गएको बताइएको छ। चुनाव प्रचारप्रसारका क्रममा पनि विभिन्न गाउँ–टोलबाट ठूलो संख्यामा एमालेमा कार्यकर्ता समाहित भएको एमाले नेताहरूले बताएका छन्।

