अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिका पुगेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि साउँद चौरपाटी पुगेर मतदातासँग भेटघाट गर्दै आभार व्यक्त गरेका हुन्।
चौरपाटीमा आयोजित कार्यक्रममा साउँदले निर्वाचनमा आफूले पराजय व्यहोरे पनि जनताले जित हासिल गरेको बताएका छन् । उनले लोकतन्त्रमा जनताको मत सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आफूलाई मत दिएर साथ दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।
“मैले हारेको भए पनि जनताको जित भएको छ। जनताले दिएको अमूल्य मतप्रति म सदैव सम्मान प्रकट गर्छु,” उनले भने।
साउँदले मतदाताले आफू प्रति देखाएको विश्वासलाई कहिल्यै आँच आउन नदिने प्रतिबद्धता जनाउँदै जनतालाई निराश हुन नदिने दावि गरे । उनले निर्वाचनका क्रममा गाउँ-गाउँमा पुगेर गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर लागिरहने पनि बताएका छन् ।
“राजनीति जनसेवाको माध्यम हो। म निर्वाचित नभए पनि जनताको सेवा गर्न सधैं जनताको पक्षमा उभिन्छु,” उनले भने, “संसद पुगेर जनताको आवाज उठाउने अवसर नपाए पनि सडकबाट भए पनि जनताको आवाज उठाइरहनेछु।”
उनले चुनावको समयमा मात्रै नेता गाउँमा पुग्ने र पछि फर्केर नआउने प्रवृत्तिलाई अन्त्य गर्ने आफ्नो प्रयास रहने पनि बताए। जनताको दुःख- सुखमा सधैं साथ रहने र जिल्लाको विकास तथा जनचासोका विषयमा निरन्तर आवाज उठाउने उनको प्रतिबद्धता थियो।
पराजयपछि पनि मतदातामाझ पुगेर धन्यवाद व्यक्त गर्दै जनताको पक्षमा उभिने साउँदको कदमलाई स्थानीयले सकारात्मक रूपमा लिँदै यसलाई राम्रो राजनीतिक संस्कारको उदाहरणका रूपमा लिएका छन्।

