बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-८ का स्थानीयले विभिन्न माग राख्दै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयबासीले वडामा विद्युत् र फोन टावरको समस्या लगायतका माग राख्दै शुक्रबार वडाध्यक्ष सुरेश बहादुर जेठारासमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
विद्युत तथा सूचना–प्रविधि पहुँच अभावले दैनिक जीवनमा गम्भीर समस्या परिरहेको हुँदा आफूहरूले सरकारसमक्ष ज्ञापनपत्र पेस गरेको स्थानीय अगुवा जगदीश बोहराले जानकारी दिए ।
बोहराका अनुसार वडामा विद्युत नहुँदा अन्धकारमा बस्नुपर्ने, २१औँ शताब्दीमा पनि उज्यालोका लागि झर्रो र टुकीको भर पर्नुपर्ने अवस्थाले जनजीवन नै ठप्प बनाएको छ। फोन सेवा नहुँदा डाँडाकाँडा धाउनुपर्ने बाध्यता अझै कायम छ।
त्यस्तै नेट चलाउनका लागि फोर जि सेवा नहुँदा वडा कार्यालय, वा झोता बजार झाउनुपर्ने विषम परिस्थिति सिर्जना भएको स्थानीय स्थानीयले बताए ।
जनताको स्थानीय सरकार घरनजिकको सरकार भएपनि सरकारले आफ्नो दायित्व भुलेको स्थानीयको भनाइ छ । स्थानीय सरकार आएको ९ वर्षभएपनि वडाबासीले पुरानै दु:ख कष्ट भोग्नु परेको छ, अहिलेसम्म समस्या बारे सरकारको ध्यानाकर्षण भएन, त्यसकारण आज हामीले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको बोहराले बताए ।
स्थानीय जलविद्युत खोलाले बगाएपछि विगत १ वर्षदेखि वडा नं ८ र ९ बासी अन्धकारमा जीवन बिताइरहेका छन् । वडामा निर्माणाधीन नेपाल टेलिकमको टावर निर्माणमा ढिलासुस्ती भएको पनि स्थानीयको गुनासो छ । उक्त कार्यमा स्थानीय सरकारको ध्यानाकर्षण हुन अति आवश्यक रहेको स्थानीय धारणा छ ।
ज्ञापनपत्रमा भनिएको छ, सरकारले देशभर ४जी सेवा र ९९ प्रतिशत जनतासम्म विद्युत् पुगेको घोषणा गरे पनि आफूहरूको वडामा अझै टुकीको भरमा बस्नुपर्ने, फोन गर्न डाँडाकाँडा धाउनुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ।
स्थानीय सरकार सञ्चालन ऐनले जनताको नजिकको सरकार स्थानीय तहलाई माने पनि नौ वर्ष बित्दा पनि समस्या समाधानका लागि कुनै ठोस पहल नभएको उल्लेख गर्दै उनीहरूले तत्काल विद्युत् र सञ्चार सेवा विस्तार गर्न माग गरेका छन्।
ज्ञापनपत्रमा वडाबासीले स्थानीय सरकारलाई जनताको पक्षमा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
त्यस्तै वडाध्यक्ष जेठाराले स्थानीयको माग शोभनीय रहेको बताए । उनलेे वडाबाट हुने गर्न सकिने कार्य सम्बोधन गर्ने र पालिका र अन्य निकायबाट हुने कार्यमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।


