काठमाडौँ- अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। सरकारदेखि विभिन्न सरोकारवाला संस्था र संघ–संस्थाहरूले दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघले १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाउन सुरु गरेको हो। यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, धार्मिकस्थल तथा अन्य संरचनाहरूमा सहज पहुँच हुने गरी मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा अपाङ्गता सम्बन्धी संवैधानिक तथा कानुनी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिलाई पहिचान गरी राज्यका सबै सुविधा र अवसरमा समान पहुँच सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता, नेतृत्व र अपनत्व महत्वपूर्ण रहने बताउनुभयो। सरकार अपाङ्गता भएका नागरिकका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न क्रियाशील रहेको उहाँको भनाइ छ।

