आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।
शनिबार दुबईस्थित आइसीसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरको छैटौं बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो। चौथो विकेटका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले १ सय २३ रनको महत्वपूर्ण साझेदारी गर्दै अमेरिकालाई जीततर्फ उकासेका थिए।
साइतेजा मुक्कमल्लले १ सय १ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाए। उनी करण केसीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए।
मिलिन्द कुमारले ६६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए। उनलाई सन्दीप लामिछानेले भीम सार्कीको हातबाट क्याच गराउँदै फर्काए।
सयान जहानजिरले ३६ रन बनाउँदा सन्दीपको बलमै बोल्ड आउट भए। कप्तान मोनांक पटेलले २१ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए। ओपनर स्मिथ पटेल १६ रनमा गुल्सन झाको बलमा एलबीडब्लु आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुल्सन झाले समान एक–एक विकेट लिए।
यसअघि अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल एक बल बाँकी रहँदा २ सय ७१ रनमा अलआउट भएको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरिले उत्कृष्ट प्रदर्शन गर्दै ६७ बलमा २ चौका र ३ छक्कासहित ७५ रनको योगदान दिए।
करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहित पौडेलले ३६ रन बनाए।
अमेरिकाका लागि हरमित सिंहले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २ विकेट झारे। जसदीप सिंह र शुभम रजानेले पनि समान एक–एक विकेट लिए।
सिरिजको आफ्नो चौथो खेलमा नेपालले आगामी बुधबार युएईविरुद्ध खेल्नेछ। यूएईसँगको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो।

