बझाङ- जिल्ला कारागार बझाङबाट भागेका मध्ये १२ जना अझै फरार रहेका छन । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी मध्ये १२ जना अझै फरार भएका हुन्।
भदौ २४ गते आन्दोलनको बेला कारागारको सुरक्षा घेरा तोडी ६५ जना कैदीबन्दी फरार भएका थिए। त्यसपछि जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भने केही कैदीबन्दी आफै कारागार फर्किएका थिए। जिल्ला कारागारमा जम्मा ८५ जना कैदीबन्दि रहेकोमा जेनजी आन्दोलनको फाइदा उठाउदै ६५ जना कैदीबन्दि फरार भएका थिए ।
उनीहरू भागेको १ महिना पुगिसक्दा पनि १२ जना अझै फरार रहेकाले स्थानीय त्रसित भएका छन्। विभिन्न आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका कैदीबन्दीहरू अझै फरार रहँदा सुरक्षाको चासो बढेको हो।
कारागार प्रशासनका प्रमुख राजेन्द्र फराडाका अनुसार फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी छ। उनका अनुसार शान्ति सुरक्षामा असर पार्ने पाँच जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ।
स्थानान्तरण गरिएकामध्ये एक जना डडेलधुरा, दुई जना धनगढी र दुई जना कञ्चनपुर कारागारमा पठाइएको जनाइएको छ।

