जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार देशका विभिन्न भू–भागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिनअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै, ती प्रदेशका थोरै स्थानमा भारी वर्षा र केही ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना छ।
मौसमविद् प्रतिमा मानन्धरका अनुसार हाल देशभर बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ। शनिबार र आइतबार मनसुनी वायु अझ सक्रिय रहने भएकाले वर्षा तीव्र हुने र सोमबारदेखि भने क्रमशः सुधार हुने अनुमान गरिएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आज राति : देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना।
शनिबार दिउँसो : देशभर बदली रहने। अधिकांश प्रदेशका पहाडी र तराई भू–भागमा मध्यम वर्षा, साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना।
शनिबार राति : कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांशतया बदली रहने। ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना।
आइतबार दिउँसो : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, साथै केही स्थानमा भारीदेखि धेरै भारी वर्षा।
आइतबार राति : कोशी, मधेस, बागमतीलगायत देशका पहाडी भू–भागमा मध्यम वर्षा, साथै थोरै स्थानमा भारी वर्षा हुने सम्भावना।
महाशाखाले तीव्र वर्षाका कारण पहिरो, बाढी, सडक तथा हवाई यातायातमा अवरोध हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ।

