काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही अन्य क्षेत्रहरूमा आंशिक बदलीदेखि सफा मौसम रहेको छ।
बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रहने, तराईका केही स्थानमा आंशिक बदली हुने र पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

