धनगढी- बझाङ र दार्चुलाबाट सुर्मादेवीका भक्तजन तथा आलिपाली करियाहरू श्रद्धापूर्वक सुर्मा सरोवर यात्रामा निस्किएका छन्। समुद्री सतहबाट १४ हजार फिट (झन्डै ४ हजार मिटर) उचाइमा अवस्थित पवित्र सुर्मा सरोवर तालमा स्नान, पूजा–आराधना तथा देवी दर्शनका लागि तीर्थयात्रीहरू घरबाट निस्किएका हुन्।
छबिसपाथिभेरा गाउँपालिका–७ का स्थानीय सुरेश मण्डेलका अनुसार, आज बिहान सबेरै स्नान गरी सफासुतली भएर गाउँमा रहेको सुर्मा मन्दिरमा दियो–बत्ती बालेर ठूलो संख्यामा तीर्थयात्रीहरूले यात्रा आरम्भ गरेका छन्। यस वर्ष ठूलो बिराइ भएकाले पहिले कहिल्यै सरोवर नगएका नयाँ तीर्थयात्री (बालावीर) पनि यात्रामा सहभागी भएका छन्।
मण्डेलका अनुसार सुर्मासरोवर तालको यात्रा शुभारम्भ गरी हिँडेका खोरी र घट्टे गाउँका भक्तजन सुर्मा माताको जयजयकार (चाहाचाहा) गर्दै नजिकैको लुवाडा गाउँको चौतारामा जम्मा भई (पणछमी) गर्दछन्। ओरालो झर्दै माटेसाँघुबाट उकालो चढ्दै पातललेखबाट सुर्मा गाउँपालिकाको सैन गाउँमा पुग्दछन् र त्यहाँ रहेको भुकोहाल्ना भन्ने मन्दिरमा अन्नी फाको चढाएपछि साँझ थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरमा पुग्दछन्।
त्यही साँझको समयमा सेलाखेत, धामीलेख,र घोगाडाबाट आउने सुर्मादेवीका धामी पूजारी अथवा आलीपालीहरूको (लोग) लाई थकुन्नाडा गाउँमा भेट गरी (पणछमी) गर्दछन्। (पणछमीको) समयमा खोरी र घट्टे गाउँका भक्तजनहरु ढाँका बजाउदै धामीझाँक्रीलाई काँधमा बोकेर स्वागत गर्दछन् र राति त्यहाँ रहेको (दहीपाण) भनिने देउघरमा गई जाग्राम बस्दछन्।
घाँसमा लडीबुडी
भोलिपल्ट सबेरै सबै भक्तजन स्नान गर्न सरोवरतालको यात्रा आरम्भ गर्दै हिमालतिर उकालो चढ्दछन्। थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरबाट करिब २ घण्टा अकालो चढेपछि भक्तजन (लोट्नी) भन्ने ठाउँमा पुग्दछन्। (विरिजात) मेलामा पहिलो पटक गएका तीर्थयात्री (बालावीर) हरु (लोट्नी) भन्ने ठाउँमा घाँसमा लडीबुडी गर्ने प्रचलन रहेको छ।
सुर्मा माताको जयजयकार गर्दै सुर्मासरोवर तालमा स्नान गर्न उकालो लागेका भक्तजन पाँच घण्टापछि करिब चार हजार मिटर उचाइमा रहेको नाच्नी भन्ने डाँडामा जम्मा हुन्छन्।
त्यहाँ रहेको सुर्मादेवी माताको मन्दिरमा तीर्थयात्रीहरू खानाका परिकार चढाउँछन। पहिलो पटक सुर्मासरोवर ताल गएका तीर्थयात्री (बालाविर) हरूलाई खोरी र घट्टे गाउँका भक्तजनले काँधमा चढाउने गर्दछन्। काँधमा चढाएबापत (बालावीर) हरु ले भेटीस्वरूप आफ्नो दक्षताअनुसार पैसा दिनुपर्ने परम्परा छ।
मागेको वर पुग्ने विश्वास
तीर्थयात्री, भक्तजनहरू नाच्नीबाट मधुखर्क, बूढीविनायक,जलजला हिमखेत, चाँदेशिखर हिमाल, हुँदै साँझ पवित्र मानिने सुर्मा सरोवर तालमा पुग्दछन्। सुर्मा सरोवर तालमा पूजाआराधनासँगै स्नान गरिसकेपछि श्रदालु भक्तजनहरू सुर्मादेवी मातालाई आफूले चिताएको वर माग्दछन् साँझ तालनजिकै रहेका ओढारमा बास बस्दछन्।
साँझ ओढारमा जाग्राम बसेका तीर्थयात्री भक्तजन सबेरै उकालो चढेर चादेशिखर हिमाल हुँदै ओरालो झर्ने गर्दछन्। एक आपसमा सद्भाव कायम गर्दै सुर्मा माताको जयजयकार (चाहाचाहा) भन्दै भक्तजन साँझ पुनः थकुन्नाडा गाउँमा पुग्दछन्। सुर्मा सरोवर तालबाट आउने तिर्थयात्री भक्तजनहरुको स्वागतका लागी थकुन्नाडा मेलाबाट महिला तथा पुरुषहरु दही र मिठो परिकार लिएर बीचबाटो लोटनी भन्ने ठाउँसम्म पुग्ने गर्दछन्।
रोमाञ्चक ढाँका नाच
सुर्मा सरोवर तालबाट स्नान गरी फर्केका श्रदालु भक्तजनहरू ढाँका नाच गरी (चाहाचाहा) भन्दै थकुन्नाडा गाउँमा रहेको (पागरजडी) सुर्मा मन्दिरमा प्रवेश गर्दछन् र सरोवरबाट ल्याएको जल तथा प्रसादहरू मन्दिरमा चढाउँछन्। साँझपख धामी झाँक्रीलाई काँधमा राखी (पणछमी ) गरेपछि खोरी र घट्टे गाउँका तिर्ययात्री भक्तजनहरू ढाँका बजाउँदै आफ्नो घरतिर प्रस्थान गर्दछन्।
भोलिपल्ट खोरी र घट्टे गाउँका तिर्थयात्री भक्तजन ढाँका बजाउँदै सुर्मादेवीको जयजयकार (चाहाचाहा) गर्दै पहिलोचोटि सरोवरको यात्रा गरेका (बालाविर) लाई काँधमा राख्दै खोरीगाउँमा रहेको सुर्मा मन्दिरमा पुग्दछन् र सुर्मासरोवर तालबाट ल्याइएको जल प्रसाद मन्दिरमा चढाउँछन्।
घट्टे गाउँका तिर्थयात्री र भक्तजनहरु पनि ढाँका बजाउँदै सुर्मादेवीको जयजयकार (चाहाचाहा) गर्दै महिलाहरु चाभाई गीत गाउँदै घट्टे गाउँतिर प्रस्थान गर्दछन्। उनीहरूको स्वागतका लागि बाटोमा महिलाहर दही लगायतका मिठो परिकार खुवाउँदै उनीहरुको स्वागत गर्दछन्
एक आपसमा भेटघाट र सदभाव कायम गर्दै पुन घट्टे गाउँमा रहेको सुर्मा मन्दिरमा पूजाआजा गरी साँझ देउघरमा खाना खाने गर्दछन्। भोलिपल्ट सबेरै खोरी र घट्टे गाउँका तीर्थयात्री भक्तजन बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गई पूजाआराधना गर्दछन्। मन्दिरमा ढाँका नाच गरी धामीलाई काँधमा चढाउँदै महिलाहरु चाभाई गीत गाउँदै ओरालो झर्दछन्। यसरी अन्तिम दिन मजखोरीमा विविध कार्यक्रम गरी मेला समापन हुन्छ।

