जीवनका पाना खोल्दा कहिलेकाहीँ नपढिएका, बिर्सिएका र आँसुले भिजेका अध्यायहरू भेटिन्छन्, जसले मनको गहिराइमा चोट बनाएका हुन्छन्। यस्ता अनुभवहरू कुनै एकजनाको मात्र होइनन्, हरेक संवेदनशील आत्माको गाथा हुन्, जसले आफ्ना सपनाको उज्यालोमा विगतको आँसु झल्काउँछ।
जीवनको यात्रा कहिलेकाहीँ बोझिलो हुन्छ। सुनौलो भविष्यको कल्पनामा डुबिरहँदा पनि पाइला भिजेका हुन्छन् । विगतका आँसुमा। ती आँसुहरू देखिने नदेखिने, तर तिनले भिजाएका मनका पानाहरू स्पष्ट हुन्छन्। ती चोट, ती घाउ र ती पीडाहरू जुन बोलेका छैनन्, तर बोलेको जति नै स्पष्ट छन्।कहिलेकाहीँ रुँदा पनि मन हलुको हुन्छ भन्ने विश्वासले आँसु बहाउन सिकाउँछ। आँशुहरूको धारामा शब्द बग्छन्, र ती शब्दहरूबाट निस्कन्छ पीडाको गहिरो सन्देश ।
धेरै पल्ट मन किताबका पानामा हराउँछ। पात्र खोज्छ, आफूलाई कतै फेला पार्न खोज्छ। तर ती कथा जस्तो जीवन हात पर्दैन। केवल हेरिन्छ । किनभने कतैभित्र अधुरो कथाको अनुभूति भइरहन्छ। मन चरा बनेर उड्न चाहन्छ, तर सपना चुँडिएको पखेटाजस्तै अधुरो लाग्छ। समय आफ्नो गतिमा बगिरहेको छ। सोचहरू पनि विस्तारै बदलिँदै छन्। भीडभाडको शहरमा उभिनुपर्ने बाध्यता हुन्छ। जहाँ हरेक अनुहार फरक देखिन्छ, फरक बोल्छ। समयसँगै आफू पनि बदलिनुपर्छ आफूलाई जोगाउँदै, टिकाउँदै। शान्त देखिने बाहिरी अनुहारमा गहिरो सङ्घर्ष लुकेको हुन्छ। तपाईं हामी सबैको जीवन सहज छैन, तर सहज बनाउने प्रयास जारी राख्नु पर्दछ । एउटा विश्वास मनभित्र बलियो भएर बस्छ अबको प्रत्येक पल-पलकाे संघर्षमा जिवन बितोस्, तर सार्थक होस्।
-दिपेन्द्र धामी
धनगढी

