काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ।
नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रमहरू आयोजना गरिएका छन्।
वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको ऐतिहासिक प्रसंग प्रसिद्ध छ।
भानुभक्तका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पत्ति मानिन्छन्।
भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाललाई एकताको सूत्रमा बाँध्न योगदान पुर्याएका भानुभक्तको योगदान अमूल्य रहेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गरेझैं भानुभक्तले भाषिक र भावनात्मक एकता स्थापित गरेका थिए।
नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका देश तथा स्थानहरूमा पनि भानु जयन्ती उत्साहपूर्वक मनाउने गरिन्छ।

