त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भयो।
१९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमै अलआउट भयो। नेपालका रुपेश सिंहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। स्कटल्यान्डका क्रिस ग्रेभ्सले ३ विकेट लिए।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले जर्ज मन्सीको ७८ रनको मद्दतमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।
शृङ्खलामा स्कटल्यान्डले ४ खेलमा २ जितसहित शीर्ष स्थानमा रहँदै उपाधि जित्यो। समान जित भए पनि रनरेटका आधारमा नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए।

