डडेल्धुरा- डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको सोही वडाको डकलेमा जिपबाट खस्दा आइतबार मृत्यु भएको हो ।
जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका-५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

