बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ ले परम्परागत मेला, चैतली, जात्रा, गौरा तथा डेउडा खेल सञ्चालन हुने ऐतिहासिक सांस्कृतिक स्थलहरूमा आवश्यक पूर्वाधार विकासलाई निरन्तरता दिएको छ।
वडा अन्तर्गत साबिक वडा नं- १ को धारी गाउँ, साबिक वडा नं-२ को उडी र साबिक वडा नं- ९ को रौकोशीमा यसअघि नै गोरेखला निर्माण कार्य सम्पन्न गरिएको थियो। सोही अभियानअन्तर्गत उडी र रौकोशीमा स्ट्रीट लाइट जडान कार्य पनि सम्पन्न भएको छ।
वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशीका अनुसार धारी गाउँका लागि आवश्यक सामग्री आइपुगेको छ र त्यहाँ पनि छिट्टै स्ट्रीट लाइट जडान गरिनेछ।
उनले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै मेला तथा जात्रामा सहभागी हुने स्थानीय बासिन्दा र दर्शकहरूको सुविधा तथा सुरक्षालाई ध्यानमा राख्दै वडा कार्यालयले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए।
स्थानीयवासीले सांस्कृतिक सम्पदाको संरक्षणसँगै यस्ता पूर्वाधार विकासका कामले परम्परागत मेलापर्वलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

